४ आश्विन २०८१, शुक्रबार 1726837755
अर्थ

भारतको जिएमआरले नयाँ लगानीकर्ता भित्र्याउँदै

काठमाडौं । भारतको जिएमआर इनर्जी लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन नसकेपछि नयाँ साझेदार भित्र्याएको छ । भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी  (इरेडा) ले नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत निगम लिमिटेड र जिएमआर इनर्जीसँग प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

यो सहकार्यले नवीकरणीय ऊर्जा पूर्वाधारको विकास गरी क्षेत्रीय ऊर्जा सुरक्षालाई अभिवृद्धि गर्ने लक्ष्य राखेको जारी विज्ञप्तिमा भनिएको छ । सम्झौतापछि इरेडा (आइआरडिए)का अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीपकुमार दासले भने ‘यस महत्वपूर्ण जलविद्युत परियोजनामा हाम्रो लगानीले नवीकरणीय उर्जा पहललाई अगाडि बढाउने इरेडा (आइआरइडिए)को निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ । यो सहकार्यले नेपालको जलविद्युत क्षेत्रको विकासलाई गति दिने मात्र होइन, क्षेत्रीय ऊर्जा सहयोगलाई पनि सुदृढ बनाउँछ, समर्थन गर्दछ ।’

उनले दिगो विकासको ऊर्जा साझा लक्ष्य भएको बताएका छन् । यो परियोजना इरेडा (आइआरइडिए)का लागि रणनीतिक महत्वको भएको दासले उल्लेख गरेका छन् । किनकि यसले नवीकरणीय उर्जा विकासमा संस्थाको समर्पणलाई सुदृढ गर्दै नेपालको विशाल जलविद्युत सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्ने उनको भनाई छ ।

इरेडा भारत सरकार स्वामित्वको नविकरणीय ऊर्जा संस्था हो । संस्थाले नविकरणीय ऊर्जामा वित्तीय सहयोग गर्दै आएको छ । इरेडको स्थापना सन् १९८७ मा भएको हो । कम्पनीको आम्दानी ३४ अर्ब ८२ करोड भारु छ ।

जिएमआरको म्याद थप समय सकिएपछि फेरी नयाँ लगानीकर्ता देखाएको हो । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । पहिला ३ सय ९ मेगावाटको भए पनि पछि क्षमता बढाएर ९ सय मेगावाट बनाइएको छ । आयोजना बनाउन १ खर्ब ४० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।

सन् २०१४ मा जिएमआर र लगानी बोर्ड नेपालबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो । आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको छैन् । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको छ । सोही समयमा प्रतिस्पर्धाबाट भारत सरकार स्वामित्वको सतलज जलविद्युत निगमले बनाइरहेको ९ सय मेगावाटको अरुण तेस्रोको काम ७० प्रतिशत सकिएको छ ।

यस्तै सतलजले ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजना पनि बनाउन अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छ । सतलजले १ सय ९८ मेगावाट अर्थात २१.९ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि अरुण तेस्रो पाएको हो । तल्लो अरुणमा पनि सतलजले २१ प्रतिशत निःशुल्क बिजुली दिने भएको छ ।

जिएमआरले ५ सय मेगावाट बिजुली बंगलादेश निर्यात गर्न त्यहाँको पावर डेभलपमेन्ट बोर्डसँग प्रारम्भीक सम्झौता गरेको थियो । १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत निःशुलल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने पिडिएमा उल्लेख छ ।

नेपालमा आयोजना विकास गर्न जिएमआरले जिएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरेको छ । यसमा २७ प्रतिशत विना दायित्व स्वामित्व नेपाल विद्युत प्राधिकरणको छ ।