४ आश्विन २०८१, शुक्रबार 1726830975
अर्थ

नेपालमै क्यान्सरको औषधी उत्पादन सुरु

काठमाडौं । कुनै समय क्यान्सर रोगको औषधी–उपचार सम्भव नै छैन भन्ने गरिन्थ्यो । केमो थेरापीलगायत अन्य पद्धतिबाट उपचार गर्न बाहिरबाट औषधी आयात हुँदै आएको छ । उपचारमात्र होइन, अहिले नेपालमै क्यान्सरको औषधी उत्पादन सुरु भएको छ ।

नेपालमै क्यान्सरको औषधी उत्पादन गर्नेतिर कसैले आँट नै गर्न सकेको थिएन । तर, देशमा बढ्दो क्यान्सरका बिरामीको संख्या मध्यनजर गर्दै टिजिग फर्मा प्रालिले सन् २०१८ देखि नेपालमै पहिलो पटक क्यान्सर विरुद्धको औषधि उत्पादन गरिरहेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताएका छन् । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन सुरु गरिएको जानकारी दिए ।

टिजिग फर्मामा ५० करोड रुपैयाँ लगानीमा काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल रहेको कारखाबाट उत्पादन सुरु गरेको हो । वैद्यका अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन प्रणाली (जीएमपी) मापदण्ड र औषधी उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्योग रहेको छ । ‘क्यान्सर रोगको औषधीले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधी उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो कारखानामा नविनतम् र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ वैद्यले भने । टिजिग फर्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन र निर्यात गर्ने नेपालको पहिलो कम्पनी हो ।

टिजिगले अहिले औषधी व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन फर्माकोपेल छन् । यी मध्ये केही औषधी उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले बताए ।

कम्पनीको नेतृत्व विभिन्न बहुराष्ट्रिय फार्मा कम्पनीहरूमा मार्केटिङको अनुभव भएकाहरुले गरेका छन् । कम्पनीलाई अहिले ९० वटा क्यान्सर (अन्कोलोजी प्रोडक्ट) अनुमति प्राप्त भएको छ । कम्पनीको उत्पादन विश्वस्तरकै रहेको उनको जिकिर छ ।

एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने भएकाले औषधीको गुणस्तर नियन्त्रण र नियमनमा विश्वसनीय आधार रहेको उनको भनाइ छ । बजारमा टिजिगका उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा छन् । सो कम्पनीले इन्जेक्सनमा आधारित भइ चाँडै औषधी बनाउने योजना रहेको निर्देशक वैद्यले जानकारी दिए ।

कुनै समय क्यान्सरको औषधी–उपचार सम्भव नै छैन भन्ने गरिन्थ्यो । समयको परिवर्तनसँगै ‘क्यान्सर ह्याभ नो एन्सर’ भन्ने भाष्य बदलिएर ‘देयर इज लाइफ आफ्टर क्यान्सर’ भन्नेसम्म आइपुगेको छ । पाँच दशकभन्दा पुरानो औषधी बजारको इतिहासमा क्यान्सरको औषधी बाहिरबाटै आयात गरिन्थ्यो । नेपालमै क्यान्सरको औषधी उत्पादन गर्नेतिर कसैले आँट नै गर्न सकेको थिएन ।

टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तिष्क र ठूलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधि उत्पादन गरिरहेको छ । नेपालमा पाँच प्रकारको मोलिक्युलका सात वटा औषधि मात्र बिक्री वितरण गर्न पाइन्छ । यसलाई बढाउँदै लैजाने कम्पनीको योजना छ ।

कम्पनीका कार्यकारी निर्देशक वैद्यका अनुसार कम्पनी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अन्तर्गत भारतको एसपीएक्युरसँग प्रविधि हस्तान्तरण सम्झौता गरी वैदेशिक लगानीमा सञ्चालनमा आएको हो । उनका अनुसार विश्व स्वास्थ्य संगठनको स्टान्डर्ड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धी ऐनअनुसार कम्पनी सञ्चालन गरिएको छ।

कम्पनीले औषधि व्यवस्था विभागबाट स्वीकृत प्राप्त औषधिहरु नेपाली र विदेशी बजारमा उपलब्ध गराउँदै आएको छ । वैद्यका अनुसार हालसम्म फार्माले औषधि व्यवस्था विभागबाट जम्मा ४५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु उत्पादन लाइसेन्स पाइसकेको छ । त्यसमध्ये नेपाल तथा विदेशमा बिक्री–वितरण गर्न पाउने गरी ७ प्रकारका औषधिको बिक्री–वितरण प्रमाणपत्र प्राप्त गरिसकेको छ।

क्यापेटिज ५००, क्यापेटिज १५० (ठूलो आन्द्रा तथा मलासयको क्यान्सरको लागि), टेमोटिज १००, टेमोटिज २५० (दिमागको क्यान्सर), अल्काटिज २ (पाठेघरको क्यान्सर), हायुटिज ५०० (सिकल सेल एनिमियाका असरहरु), जेफिटिज २५० (फोक्सोको क्यान्सर) लगायतका औषधिको नेपाल र विदेशमा निर्यात गर्न बिक्री–वितरण प्रमाणपत्र प्राप्त गरेको हो ।

हालसम्म कम्पनीले सार्वजनिक खरिद प्रक्रियामार्फत सरकारका विभिन्न अस्पतालहरुमा आफ्ना उत्पादनहरु उपलब्ध गराइरहेको छ । जसमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिभिल सर्भिस अस्पताल, वीर अस्पताल रहेका छन् । यस्तै निजी क्षेत्रका नेपाल क्यान्सर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल, नेसनल अस्पताल, ग्राण्डी इन्टरनेसनल, मेडिसिटी अस्पताल, बिएण्डबी, पूर्वाञ्चल क्यान्सर अस्पतालमा समेत कम्पनीका औषधिहरु उपलब्ध भएको वैद्यले बताए ।

यसबाहेक विभिन्न अस्पतालका चिकित्सकको प्रेस्काइबअनुसार कम्पनीले औषधि वितरण गर्दै आइरहेको छ ।

कम्पनीले औषधि व्यवस्था विभागबाट १५ प्रकारका मोलिक्युलको प्रयोग गरी उत्पादित २८ किसिमका औषधि उत्पादन र वितरण गर्ने अनुमति लिइसकेको छ । जसमध्ये ६ वटा फर्माकोपेल र २२ वटा ननफर्माकोपेल रहेका छन्। फर्माकोपेल उत्पादन स्थानीय बजार र निर्यात गर्न सकिन्छ भने ननफर्माकोपेल उत्पादन निर्यात मात्र गर्न पाइन्छ । कम्पनीमा नयाँ किसिमका टेक्नोलोजी र मेसिनहरुको प्रयोग हुँदै आएको छ।

भारतको हैदरबादस्थित एसपी एक्युर ल्याब (एसपीएएल) सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर स्थापना तथा सञ्चालन भएको उद्योग हो ।टिजिग फर्माबाट उत्पादन हुने क्यान्सर विरुद्धको औषधिको मूल्य आयातीत औषधिको तुलनामा केही सस्तो हुने पनि कार्यकारी निर्देशक वैद्यले जानकारी दिएका छन् । नेपालमा प्रति वर्ष २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्। एक वर्षमा १३ हजारको मृत्यु हुने गरेको तथ्याँक छ ।