४ आश्विन २०८१, शुक्रबार 1726884687
अर्थ

राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

सिरहा । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।

उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् ।

उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । “उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भन्नुभयो, “त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।”

उद्योगलाई चाँडै बयानका लागि बोलाउने तयारी भइरहेको प्रमुख ओझाले जानकारी दिनुभयो । उहाँले बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राजस्व पनि छली गरिएको देखिएकाले सूक्ष्म रुपमा अनुसन्धानमा जुटेको बताउनुभयो ।