३ भदौ २०८३, बुधबार 1787194357
Banner

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज (पर्सा) : प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिनुभयो ।

‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उहाँले भन्नुभयो, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।