३ आश्विन २०८१, बिहिबार 1726810489
Banner

रास्वपा बलियो र सुदृढ संघीय सरकारको पक्षमा छ : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् । बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उनले रास्वपा बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन् । 

उपसभापति वाग्लेले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बिचमा अन्यौलता सिर्जना भइरहेको बताए । उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए । उनले पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए ।

उपसभापति वाग्लेले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए । प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरू रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाई छ ।उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए ।

उनले भने, ‘कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिट अनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठुलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ । जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहिँ कानुनी, प्रशासनिक र वित्तीयमै एकदमै ठुलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन । अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहिँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् भन्ने हो ।’उपसभापति वाग्लेले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताए ।