७ आश्विन २०८१, सोमबार 1727095082
पालिका

ढल व्यवस्थापन सक्यौँ, खानेपानीको समस्या समाधान गर्दै छौँ : वडाध्यक्ष प्रदीप कार्की

काठमाडौँ । सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रदीप कार्कीले विकास निर्माण र चुस्ता प्रशासनिक सेवालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए । अघिल्लो कार्यकालमा बाँकी रहेका र नयाँ बनाइएका विकास निर्माणका कामलाई अघि बढाइरहेको उनको भनाइ छ । विकास निर्माणको काम अग्रपंक्तिमा रहेर युद्धस्तरमा काम भइरहेको जानकारी दिँदै वडाध्यक्ष कार्कीले ढल व्यवस्थापनमा पनि काम भइरहेको बताए ।

वर्षामा घरभित्र पानी जाने अवस्थालाई अन्त्य गरेको भन्दै उनले भने, ‘बर्षातका कारणले घरभित्र पानी छिर्ने गर्थ्यो, रोडमा पानी आएर जम्थ्यो । हामीले २३/२४ फिट गहिरो पाइलिङ गरेर ढल व्यवस्थापन गरेका छौँ ।’ सडक पिच र ढलान गर्ने कार्य पनि भएको वडाध्यक्ष कार्कीले बताए ।

ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षणमा पनि काम गरेको जानकारी दिँदै उनले भने, ‘शिव सर्किटको पहिलो उद्मस्थल धर्मेश्वर महादेव मन्दिर र दोस्रो गुप्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वारको काम भएको छ । धर्मेश्वरको सकिसकेको छ भने गुप्तेश्वरको यही वर्ष सकिन्छ । हामीले पुरातात्त्विक हिसाबले काम गरेका छौँ ।’

‘एक वडा एक फल्चा’को नीतिअनुसार गणेश मन्दिर अगाडि फल्चा बनाउने काम सकिएको उनले जानकारी दिए । बसिडोलमा पनि बालकुमारी मन्दिरको काम पनि तीव्रगतिमा भइरहेको र यहाँ पनि एउटा फल्चा बनिसकेको भन्दै उनले यहाँ अन्य देवी देवताको मूर्ति राख्ने र वाल लगाउने कार्य भइरहेको जानकारी दिए । पुराना पानीका स्रोत सुक्दा सूर्यविनायक २ र ३ नम्बर वडामा पानीको समस्या देखिएको भन्दै उनले यसको समाधानका लागि पहल भइरहेको बताए । दधिकोट र गुप्तेश्वरमा डिपबोरिङ गरेर त्यसबाट पानी वितरण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य प्रतिकूल रहने आइरन, म्याग्नेसियम र एमोनिया देखिएकाले सबै ठाउँको पानी वितरण गर्न नसकिएको उनले बताए ।
पानीको समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँग सूर्यविनायक नगरपालिकाले सम्झौता गरिसकेको जानकारी दिँदै उनले नगरपालिकाले ८ करोड रकम विनियोजित गरेर स्थानीय उपभोक्तसँग ६०र४० नीतिअनुसार पानी वितरण गर्नेगरी केयुकेएलसँग सम्झौता भएको जानकारी दिए ।

केयुकेएलले सूर्यविनायक नगरपालिकासँग सम्झौता गरेको र नगरपालिकाले खानेपानी उपभोक्ता समितिले सम्झौता गरेर खानेपानीको समस्या समाधानमा काम भइरहेको उनको भनाइ छ । सम्झौताअनुसार दैनिक सूर्यविनायक २ र ३ नम्बर वडामा चार चार लाख गरी आठ लाख लिटर पानी वितरण गर्ने भनिएको वडाध्यक्ष कार्कीले बताए ।

स्वास्थ्य सेवा प्रदान गर्न शिविर पनि सञ्चालन गर्ने गरिएको उनले बताए । ज्येष्ठ नागरिकलाई मासिक स्वास्थ्य परीक्षण गर्ने गरिएको उनको भनाइ छ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन भइसकेको र बालबालिका लागि खेल मैदान बनाउने काम बढाउने योजना बनाएको उनले बताए । आफूलाई गुनासोभन्दा सुझाव धेरै आउने गरेको जानकारी दिएका उनले आफू वडामा आएदेखि ठूला समस्या केही नआएको बताए ।