८ आश्विन २०८१, मंगलबार 1727179756
पालिका

सबै जनप्रतिनिधिले महानगर नै बनाउने गरी काम गरिरहेको छौँ, एक व्यक्तिको चर्चा आवश्यक छैन : न्हुच्छेकाजी महर्जन

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले अघिल्लो कार्यकालमा बाँकी रहेका र नयाँ योजना बनाएर काम गरिरहेको जानकारी दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रपछि पहिलोपटक २०७४ सालमा स्थानीय चुनाव भएको स्मरण गराउँदै उनले विशेष परिस्थितिमा कानुन बनाउनेदेखि विकास निर्माण पनि सँगै गर्नुपरेको बताए ।

२०७२ सालमा गएको भूकम्पले क्षति गरेको ऐतिहासिक, धार्मिक र सांस्कृति सम्पदाको पुननिर्माणलेदि जीर्णोद्वारको काम पनि गर्नुपरेको उनको अनुभव छ । कारोनाको महामारीमा होस् या अहिले नै पनि जनताको स्वास्थ्यप्रति चिन्तित रहेर सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको वडाध्यक्ष महर्जनले बताए । भएका कामबारे जनतालाई जानकारी नदिँदा मूल्यांकन नै नराम्रो हुने देखिएको भन्दै उनले यसलाई आत्मसाथ गर्दै अघि बढेको बताए । पहिलो कार्यकालमा गरेका कार्यको अहिले राम्रो परिणाम जनताले अनुभव गरेका दाबी गर्दै उनले दोस्रो कार्यकालमा अहिले अघिल्लो कार्यकालको बाँकी रहेका कामसहित नयाँ दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए ।

आवश्यकताको आधारमा काठमाडौँ महानगरले गरेका कार्यप्रति निगरानी राख्दै वडाले पनि विकास निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । सबै जनप्रतिनिधिले नै महानगर नै बनाउने गरी काम गरिरहेको भन्दै उनले कुनै एक व्यक्तिको चर्चा हुनु उचित नभएको बताए । कार्यपालिकाले तय गरेका योजना र सोहीअनुसार गरिएको बजेट विनियोजनअनुरुप नै काम भइरहेको वडाध्यक्ष महर्जनले बताए । आफूहरुको कामबारे कसैले पनि चर्चा नगरिदिएको उनको गुनासो छ । कसैको नाम उच्चरण गरेर महानगर नबन्ने भन्दै उनले भने, ‘बालेन सिटी भन्दैमा काम हुन्छ र ? यस्ता भ्रम र हुइँयाँ फैल्याउनु हुँदैन ।’

आफूले फोहोर र ढल व्यवस्थापन, शहरलाई हरियाली बनाउने गरी बोटबिरुवा रोप्नदेखि सम्पदा संरक्षणका काम गरिरहेको जानकारी दिएका उनले केही सम्पदाको संरक्षणमा देखिएका विवाद समाधानको पहल भइरहेको जानकारी दिए ।