९ आश्विन २०८१, बुधबार 1727249417
पालिका

साँगा झोलुङ्गे पुल बारे भ्रम फैलाउने आशिका तामाङलाई कानुनी कारवाहीको माग

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमाना सूर्य मोर्डमा रहेको झोलुङ्गे पुलको विषयमा भ्रम फैलाउने र सार्वजनीक सम्पत्ति तोडफोड जस्ता अराजक गतिविधि गरिएको भन्दै घोर भत्र्सना गरेको छ । नगरपालिकाले पुल प्रयोग गर्ने ब्यक्तीसँग लिइएको शुल्कको विषयलाई अतिरञ्जीत गर्दै कानुन हातमा लिई अराजक गतिविधि गर्ने अभियान्ता बताउने आशिका तामाङलाई प्रकाउ गरि कानुन सम्वत कारबाही गर्न माग गर्दै प्रहरी बृत जगातीमा जाहेरी समेत दर्ता गरेको छ ।

मंगलबार बसेको नगर कार्यापालिकाको बैठकले अराजक गतिविधिमा संलग्न आशिकालाई तत्काल कानूनी कारवाही गर्न निर्णय गर्दै जाहेरी दर्ता गरिएको नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले कार्यपालिका बैठकको निर्णय अनुसार तोडफोड र आगजानीमा संलग्न आशिकालाई तत्काल कानून बमोजीम कारवाहीको माग गर्दै जाहेरी दर्ता गरिएको बताउनुभयो ।

नेपालको संविधान वमोजिम बनेको तीन तहको सरकार मध्ये स्थानीय तहको एकल अधिकार भित्र रहेको स्थानीय सरकारले स्थानीय सरकार संचालन ऐनको दफा ६५ अनुसार बनेको राजश्व परामर्श समितिको बैठकवाट सिफारिस भई दफा ६२ को २ घ वमोजिम वार्षिक रुपमा नगर सभावाट पास गरिएको आर्थिक ऐनमा तोकिए वमोजिमको स्थानीय कर लिंदै आएको समिति संयोजक तथा नगर उपप्रमुख सरिता भट्टराईले बताउनुभयो ।

‘सूर्यविनायक नगरपालिकालाई दिगो र व्यवस्थित बनाउन उद्योग व्यवसाय कल कारखानाको स्थायीत्व गर्न र पुंजी निर्माण गर्ने नगरपालिकाको प्रमुख दायित्व हो । यसरी विभिन्न क्षेत्रबाट संकलीत राजश्ववाट नै स्थानीय क्षेत्रको बाटो घाटो पुल कुलेसा, शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको विकास गर्न स्थानीय सरकारले राजस्व संकलन गर्न पाईने व्यवस्था छ’, राजस्व परामर्श समिति संयोजक भट्टराईले भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुल निर्माण गरिएकाले पर्यटकहरूसँग शुल्क उठाइएको स्पष्ट पार्नुभयो ।

‘यो कुनै खोला, नदी तर्न बाध्यात्मक आवश्यकताका कारण बनाइएको पुल होइन,’ उहाँले थप्दै भन्नुभयो, ‘पुलबाट दृश्यावलोकन गर्न एवं मनोरञ्जन लिन इच्छा भएका व्यक्तिले शुल्क तिरेर प्रयोग गर्न सक्नुहुनेछ । ओहोरदोहोर गर्न वैकल्पिक बाटो पनि छन् ।’

यो पुल स्थानीयबासीलाई आवतजावतमा नभई पर्यटकीय उद्देश्यले निर्माण गरिएको हो । भ्रमण र रमाइलो गर्न आउनेले पुल प्रयोग गरेवापत रु २० रुपैयाँ शुल्क तीर्नुपर्छ । सूर्यविनायकका स्थानीयलाई भने टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ । छुट प्राप्त गर्न आफ्नो परिचय खुल्ने परिचयपत्र भने आवश्यक रहने वडा नम्बर १० का अध्यक्ष शिवराम राउतले बताउनुभयो ।

उहाँका अनुसार वडा नं ९ र १० का स्थानीयले भने कुनै शुल्क तिर्नुपर्दैन । आर्थिक वर्ष २०७७ \७८ को नगर सभामार्फत पुल प्रयोग गर्नेबाट शुल्क उठाउने निर्णय भएको वडा नम्बर १० का अध्यक्ष राउतले बताउनुभयो । सो शुल्कबाट संकलीत रकम स्थानीय विकास निर्माण नै लगानी गर्ने गरिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा नगरपालिकाका नगर प्रमुख बासुदेव थापासहित १० वटै वडाका वडाध्यक्षहरु र कार्यापालिका सदस्यहरुको सहभागिता थियो ।