९ आश्विन २०८१, बुधबार 1727266524
पालिका

सम्पदाको अभिलेख तयार गरेर डिजिटाइजेसन गर्ने मिसनमा छु : वडाध्यक्ष मचाराजा महर्जन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले आफ्नो वडाभित्र रहेका सम्पदाको अभिलेख तयार गरेर डिजिटाइजेसन गर्ने मिसनमा आफू रहेको जानकारी दिए । दरबारसहित सम्पदाले भरिएको वडा भएकाले यी सम्पदाबाट स्थानीयलाई कसरी लाभ मिल्न सक्छ भन्ने हिसाबले पनि काम गरिरहेको उनको भनाइ छ ।


जीवित देवीको बासस्थान कुमारीगाल, इन्द्रनाथको कैशालकुट मन्दिरसहित विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा आफ्नो वडामा पर्ने वडाध्यक्ष महर्जनले जानकारी दिए । साथै नेवार समुदाय शाक्य, बज्राचार्यको दैनिक जीवनमा धार्मिक, सांस्कृतिक तथा जन्मदेखि मृत्युसम्म महत्व राख्ने ‘बाहा बही’हरु २५ प्रतिशत आफ्नै वडामा रहेका जानकारी दिएका उनले इन्द्रजात्रा पनि आफ्नै वडामा हुने बताए । इन्द्रजात्रामा के के गरिन्छ भन्ने लगायतका विषयमा अहिले पनि स्पष्ट अभिलेख नराखिएको देखिएको भन्दै उनले आफूलाई इन्द्रजात्रामा गरिने धार्मिक तथा सांस्कृतिक कार्यदेखि विशेषतासम्म उल्लेख गरेर अभिलेख बनाउने कार्य गरिएको जानकारी दिए ।

धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदा रहेको भन्दै उनले यिनीहरुको संरक्षण गर्दै यसका महत्त्व दर्शाएर प्रवद्र्धन गर्ने कार्य आफूले गरिरहेको जानकारी दिए । यसका लागि सरोकार गुठीवालसँग समन्वय गरिएको उनको भनाइ छ । आफूहरुले कम खर्चमा पूर्वाधारका काम गरेको बताएका वडाध्यक्ष महर्जनले वडाबासीको आवश्यकता र सहभागितामा काम गर्ने गरेको बताए ।
बालबालिका, युवा र ज्येष्ठ सदस्यसहित सबै उमेर समूहलाई लक्षित गरी काम गरेको उनको भनाइ छ । वडाबासीको भूकम्पका बेला देखिएका सामाजिक तथा आर्थिक समस्या समाधान गर्नेगरी व्यवस्थापनको योजना पनि बनाएको उनले बताए ।