९ आश्विन २०८१, बुधबार 1727273926
Banner

सुनिल पौडेलको कर चुक्ता प्रमाणपत्र नै नक्कली

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्धक निर्देशक सुनिल पौडेलविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । bअख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पौडेलले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको निष्कर्ष निकाल्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधीवक्ता बिना खड्का थापाले २ साउनमा पौडेलविरुद्ध लिखतसम्बन्धी कसुरमा २ असोजमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी उजुरी परेपछि अख्तियारले पौडेलविरुद्ध अनुसन्धान अघि बढाएको थियो । सो क्रममा पौडेलको शान्तिनगरस्थित घरमा १० माघ २०८० मा अख्तियारले छापा मारेरे विभिन्न कागजातहरु बरामद गरेको थियो ।

बरामद कागजातहरु मध्ये केही कागजातहरु आन्तरिक राजश्व कार्यालय पुतलीसडक काठमाडौंमा जारी भएका कर चुक्ता प्रमाणपत्रहरु थिए । पौडेलका नाममा जारी भएका कर चुक्ता प्रमाणपत्रहरु ती कार्यालयबाट जारी नभएको अनुसन्धानको क्रममा खुलेको थियो । यस विषयमा थप अनुसन्धान गरेर कारबाही अघि बढाउन भन्दै परिसर काठमाडौंलाई कागजातसहित पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा कर चुक्ता प्रमाणपत्रहरु पौडेलले कीर्ते गरी तयार पारेको देखिएपछि सोही अनुसार अनुसन्धान प्रतिवेदन बुझाइएको परिसरको मुद्दा शाखाका डीएसपी हरि खतिवडाले बताए । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा ३ को खण्ड (ग) को कसुर अनुसार कारबाही गर्न माग गरिएको छ । जसअनुसार सरकारी कागजात कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पौडलविरुद्ध यसअघि नै सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको थियो । उक्त आरोपमा पौडेललाई दोषी ठहर गर्दै विशेष अदालतले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।