३० आश्विन २०८१, बुधबार 1729127403
Banner

प्रधानन्यायाधीशमा राउत र अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित

काठमाडौँ- संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो ।

बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको जानकारी दिनुभयो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

समितिको आजको बैठकले अस्टेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।
समितिका ज्येष्ठ सदस्य सभापति ढुंगानाले भन्नुभयो, ‘संवैधानिक परिषद्को मिति २०८१ भदौ ३१ को निर्णय र नेपाल सरकार मन्त्रीपरिषद्को मिति भदौ २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश र अस्टेलियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत र राजदुतमा चित्रलेखा यादवको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको सञ्चालन नियमावली ८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको जानकारी गराउँछु ।’

अनुमोदित प्रधानन्यायाधीश र राजुदतलाई अब राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।