३० आश्विन २०८१, बुधबार 1729103551
Banner

वडाध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको कदमप्रति ६ पार्टीको विरोध

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफू विदेश जाने क्रममा वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको विषयप्रति विभिन्न ६ पार्टीले विरोध गरेका छन् । धरानमा सक्रिय रहेका नेकपा एमाले, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी पार्टी), रास्वपा र राप्रपाले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रमुख स्वतः कार्यवाहक प्रमुख हुने ऐनको व्यवस्था रहेको दाबी गरेका हुन् ।

 धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राई केही समयका लागि धरान बाहिर जाने क्रममा गैरकानुनी रूपमा ११ नं. वडा अध्यक्ष श्री लोकेन्द्र फागोलाई कार्यवाहक पत्र थमाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’ विज्ञप्तिमा ऐनमा भएको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानूनी रूपमा वडाध्यक्षलाई कार्यवाहक दिइएको दाबी गरिएको छ ।

‘ऐनले व्यवस्था गरेको उप प्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै नीच कार्य गरेको हाम्रो ठहर छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ र धरानवासीको शिर निहुराउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दछौँ । साथै नगर प्रमुखको तहबाट यस्ता गैरकानुनी र अराजक गतिविधिहरू नगर्न सचेत गराउँदछौँ । नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने पार्टीबाट निर्वाचित वडा अध्यक्षले आफ्नै पार्टीसहितले बनाएको संविधान र कानुन विपरीत सर्तसहित केवल थपनामात्रको कथित का.बा.को जिम्मा लिनु आश्चर्यजनक भएको छ । यसर्थ नेपाली कांग्रेस धरान नगर समितिलाई समेत यस विषयमा ध्यानाकर्षण गराउँदछौ ।’ ती पार्टीहरूले ऐनको व्यवस्था अनुसार धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम वेघा नै कानुनतः स्वतः कार्यवाहक प्रमुख रहेको दाबी पनि गरेका छन् ।