१ कार्तिक २०८१, बिहिबार 1729156148
Banner

नाइजेरिया ट्याङ्कर विस्फोट अपडेटः मृतकको संख्या एक सय ४७ पुग्यो

काठमाडौं- उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएको आपतकालीन सेवा र प्रहरीले जनाएको छ ।

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरपर चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिसलाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।

उपराष्ट्रपति काशिम शेट्टिमाले सुरक्षा समीक्षाको आह्वान गर्दै सङ्घीय सरकारले प्रभावितहरूलाई सहयोग गर्ने बताउनुभयो । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट सामान्य बनेको छ ।

कमसल सडकका कारण हुने दुर्घटना र दुर्घटनापछि इन्धन चोरी गर्ने प्रवृत्तिका कारण यस्ता दुर्घटना हुने गरेको छ । सरकारले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । नाइजेरियामा पेट्रोलको मूल्य अधिक र अभाव पनि उच्च रहने गरेको छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभित्र दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ । एक महिनाअघि मात्रै नाइजर राज्यमा यस्तै दुर्घटनामा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो ।