१ कार्तिक २०८१, बिहिबार 1729177665
समाचार

श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा श्रीमान २४ वर्षपछि पक्राउ

सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट छन् ।मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका भक्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घरमै लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भक्तबहादुरविरूद्ध जाहेरी आएको घटना भने २४ वर्षअघिको हो । २०५७ साल मंसिर १३ गते उनले श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो ।

के थियो घटना ?

१ असोज २०५७ मा ३५ वर्षीय भक्तबहादुरले सोही ठाउँकी २१ वर्षीया नामसरादेवी कँडेललाई विवाह गरेर भारतको गोरखपुर पुर्‍याए । त्यसको दुई महिना पछि भक्तबहादुरले भारतीय नागरिकलाई १५ हजार रुपैयाँ भारुमा बेच्ने योजना बनाए । ७ मंसिर २०५७ मा नामसरादेवीलाई आफूले किनेको भन्दै एक जना व्यक्ति लिन आए । उनी जान नमानेपछि भक्तबहादुरले मार्ने धम्की दिए । ‘शौचालय जाने बहानामा भागेर नामसरा भारतीय प्रहरीसमक्ष पुग्न सफल भइछन्’, नामसरादेवीले सुर्खेत प्रहरीलाई दिएको जाहेरी उदृढ गर्दै डिएसपी विश्वकर्माले भने, ‘पछि बेच्ने र किन्ने व्यक्ति फरार भएछन् । भारतीय प्रहरीले नामसरालाई नेपालसम्म उद्धार गरेर पठाएछ ।’

डिएसपी विश्वकर्माका अनुसार नेपाल आएपछि नामसरादेवीले आफूलाई विवाह गरेर भारत पुर्‍याएको र एक भारतीय नागरिकसँग बेचेको भन्दै भक्तबहादुरका विरुद्ध ०५७ को मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिइन् ।मंसिर १६ गते पीडितले जिल्ला अदालत सुर्खेतमा समेत घटनाको विस्तृत बयान दिइन् । ०७६ सालमा नै अदालतले भक्तबहादुरलाई पक्राउको अनुमति दिएको थियो । तर फरार रहेका भक्तबहादुर भारतमै लामो समय लुकिछिपी बसे ।

मानव बेचबिखनविरुद्धको मुद्दाको हदम्याद असीमित हुने भएकाले सुर्खेत प्रहरीले बीचबीचमा उनको खोजतलास गर्दै आएको डिएसपी विश्वकर्मा बताउँछन् ।‘फरार प्रतिवादीहरुको बीचबीचमा खोजतलास भइरहन्छ,’ डिएसपी विश्वकर्माले भने, ‘पछिल्लो समय भक्तबहादुर घरमै लुकीछिपी बसेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो ।’ निवेदक नामसरादेवीको भने ९ वर्षअघि मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुर्खेत प्रहरीले फरार प्रतिवादीहरूको खोजतलासलाई प्राथमिकता दिएको छ । गत वैशाख २८ गते यता मात्रै २ सय प्रतिवादी पक्राउ गरिएको डिएसपी विश्वकर्माले बताए ।अदालतले फैसला गरेका र पक्राउ पुर्जी जारी गरेर पनि फरारको सूचीमा रहेकाहरूको खोजबिन प्राथमिकताका साथ थालेका छौँ,’ उनले भने ।