११ कार्तिक २०८१, आइतबार 1730059433
Banner

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौँ : सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।

सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्र्तगतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यहाँ सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।