११ कार्तिक २०८१, आइतबार 1730059477
Banner

प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउन जानेका छौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । ‘हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे’, प्रधानमन्त्रीले त्यस्तै हुन नहुने बताए ।

प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।  उनले हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने आफूलाई थाहा भएको पनि बताए । ‘फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेको छ हामीले’, प्रधानमन्त्री ओलीको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफू ७० वर्ष पुगेपनि देशमा अझै अर्को क्रान्ति गर्ने आँट रहेको बताएका थिए ।