३० भदौ २०८३, मंगलबार 1789497786
समाचार

२६ नेपाली कूटनीतिज्ञ तथा अधिकारीले भारत भ्रमण गर्दै

काठमाडौं । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीको समूहले भोलिदेखि मंसीर १५ गतेसम्म भारतको भ्रमण गर्नेभएको छ ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरु रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण शहर र ठाउँको भ्रमण समावेश छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले हिजो २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग भारत जानुअघि अन्तरक्रिया गर्नुभएको थियो र सबैलाई उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गर्नुभएको थियो ।