१९ मंसिर २०८१, बुधबार 1733320456
समाचार

सैलुङ कन्स्ट्रक्सनसहित २१ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौँ । सैलुङ कन्स्ट्रक्सनसहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो । यसरी कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।

त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । त्यस्तै, चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी १५ वटालाई भने एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।