२५ श्रावण २०८३, सोमबार 1786383328
अर्थ

साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौँ : पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ। त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार रुपैयाँबराबरको आईपीओ पाइपलाइनमा छ। विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा छ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरका तीन करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन्। साथै ४० वटा जलविद्युत् आयोजनाले कूल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आईपीओ जारी गर्न प्रक्रिया अघि बढाएका छन्।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आईपीओ जारी गर्न लागेका छन्। उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आईपीओ निष्कासनको प्रक्रिया थालेका छन्।

धितोपत्र बोर्डका अनुसार आईपीओ निष्कासनका लागि निवेदन दिनेमा सबैभन्दा धेरै ४० वटा कम्पनी जलविद्युत् समूहतर्फ दिएका छन्।

सानिमा हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, भुजुङ हाइड्रोपावर, दरमखोला हाइड्रो इनर्जी, सान्भी इनर्जी, बेनी हाइड्रोपावरलगायतको आईपीओ निष्कासन पाइपलाइनमा छ।

त्यस्तै, यमलिङ्ग हाइड्रोपावर, मबिलुङ्ग हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावरलगायत कम्पनीहरु आईपीओ पाइपलाइनमा रहेका छन्।

होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आईपीओ पाइपलाइनमा छन्। यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड स्वीट्स लिमिटेड आईपीओ निष्काशनका लागि पाइपलाइनमा छन्।

लगानी समूहतर्फ वरुण इन्भेस्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ ल्याउँदैछन्। उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आईपीओ पाइपलाइनमा छ। एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीको आईपीओ आइँदैछ।

त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टील्स लिमिटेडले आईपीओ ल्याउने तयारी गरिहेका छन्। लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनका लागि बोर्डमा विचाराधिन छ।

त्यस्तै, लघुबीमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्न बोर्ड समक्ष निवेदन दिएका छन्।

अन्य समूहका १० कम्पनी आईपीओ पाइपलाइनमा छन्। ट्रेड टावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल) लिमिटेड, पिअर इनर्जी लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिस लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिजले आईपीओ ल्याउँदै छन्।