काठमाडौं । तीन जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) विहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङ, ओखलढुंगा र मकवानपुर गरी तीन जिल्ला सीडीओविहीन बनेका हुन् । आइतबार खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन थियो । विपद्को बेलामा सीडीओविहीन हुँदा नियन्त्रणमा समेत समस्या भएको थियो ।
करिब दुई साताअघि खोटाङका सीडीओ उमेरहदका कारण अवकाश भएपछि गृहमन्त्रालयले अहिलेसम्म कसैलाई पनि सीडीओ बनाएर खोटाङ पठाएको छैन । खोटाङकै छिमेकी जिल्ला ओखलढुंगा करिब डेढ महिनादेखि सीडीओविहीन छ । १६ पुसमा नारायण ढकालले अवकाश पाएपछि ओखलढुंगा सीडीओविहीन बनेको छ । तर ओखलढुंगामा पनि अहिलेसम्म गृह मन्त्रालये सीडीओ पठाएको छैन । मकवानपुर पनि २ फागुनदेखि सीडीओविहीन बनेको छ । मकवानपुरका सीडीओ तिर्थराज चिलुवाको अर्थ मन्त्रालयमा सरुवा भएपछि मकवानपुर सीडीओविहीन भएको छ ।
हिउँदमा मुख्यगरी आगलागीका घटनाहरू हुने हुँदा विपद्को दृष्टिले निकै संवेदनशील मानिन्छ । तर गृहले अहिलेसम्म सीडीओको रुपमा कसैलाई पनि पठाएको छैन । यता गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जतिसक्दो चाँडो सीडीओ पठाउने तयारीमा मन्त्रालय रहेको बताउँछन् । गृहमा भने सहसचिवहरू जिम्मेवारविहीन भएर बस्दा समेत सीडीओको रुपमा कसैलाई पठाइएको छ । ठूला र आकर्षक जिल्लाका सीडीओ जान मरिहत्ते हुन्छ । तर अहिले खाली रहेका साना पहाडी जिल्लाहरू भएकाले जान इच्छुक पनि नदेखाउने हुँदा यो समस्या आएको गृह स्रोतले बतायो ।