१५ बैशाख २०८३, मंगलबार 1777408811
फिचर

डाक्टर दम्पतीले लिए १८ अनाथ बालबालिकाको अभिभावकत्व

चितवन : कमाउने रहर धेरैको हुन्छ। तर, कमाएर विपन्नलाई सहयोग गरेर रमाउने विरलै हुन्छन्। आफ्नो कमाइ सामाजिक सेवामा खर्चिने चितवनका चिकित्सक दम्पतीले परिवार गुमाएका र आर्थिक विपन्नता भएका अनाथ बालबालिकाको चितवनका चिकित्सक दम्पतीले अभिभावकत्व लिएका छन्। आर्थिक अवस्थाले पढ्न नपाएका १८ जान बालबालिकालाई चितवनका वरिष्ठ चिकित्सक डा. अजय न्यौपाने र डा. सरु थापाले उनीहरूको पढाइसहित अभिभावकको जिम्मा लिएका हुन्। 

तनहुँँको देवघाट गाउँपालिकाका विकट भेगका १० सामुदायिक विद्यालयका १० बालक र ८ जना बालिकाको उच्च शिक्षासम्मका लागि सम्पूर्ण व्यवस्थापनसहितको जिम्मेवारी उनीहरूले लिएका हुन्। चिकित्सक दम्पतीले स्थापना गरेको डा. अजय डा. सरु थापा फाउन्डेसनमार्फत ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई सहयोगसहितको अभिभावकत्व लिएका हुन्। बालबालिकाले पढ्न चाहेजति पढाउने भएका छन्। 

आमाबुवामध्ये कुनै एक नभएकालाई आवश्यक स्रोतसाधनसहित शैक्षिक भविष्यको जिम्मेवारी लिएको फाउन्डेसनका संस्थापक डा. अजय न्यौपानेले बताए। ‘ती बालबालिकाहरू जो सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन्। हामी उनीहरूको उज्ज्वल भविष्य निर्माणका अभिभावकका रूपमा, हामी केवल आर्थिक सहायता मात्र होइन, माया, स्नेह, र जीवनका हरेक क्षेत्रमा अटल सहयोग प्रदान गर्न प्रतिज्ञाबद्ध छौं,’ फाउन्डेसनका संस्थापक डा. अजय न्यौपानेले भने, ‘हाम्रो लक्ष्य उनीहरूलाई प्रेम र स्नेहले हुर्काउनु, उनीहरूको सपनाहरूलाई प्रोत्साहन गर्नु, र शिक्षा मार्फत उनीहरूलाई सक्षम बनाउनु हो। चाहे उनीहरू जहाँसम्म पढ्न चाहून्।’ शनिबार देवघाट गाउँपालिका ५ स्थित कालिका आधारभूत विद्यालयमा बालबालिकालाई शैक्षिक भविष्यको जिम्मेवारी लिएका हुन्। उनीहरूलाई शैक्षिक सामाग्रीसहित झोला, खेलकुदका सामग्री प्रदान गरे। ‘जसले आफ्ना परिवार गुमाएका छन् र आर्थिक कठिनाइको सामना गरिरहेका छन्, ती साना नानीहरूले आशा र खुसीले भरिएको जीवन बिताउन पाउनुपर्छ। हामी उनीहरूको यात्रामा साथ दिन पाउँदा आफूलाई साँच्चै सौभाग्यशाली महसुस गर्छौं,’ फाउन्डेसनकी संस्थापक डा. सरु थापाले भनिन्, ‘उनीहरूको हरेक पाइला मार्गदर्शन गर्न तत्पर छौं र उनीहरूलाई कहिल्यै एक्लो महसुस हुन नदिन प्रतिबद्ध छौं। उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसर पाउनु हाम्रो लागि ठूलो सम्मान हो।’

विभिन्न वडामा भएका विद्यालयमा सम्पर्क गरेर विद्यार्थीको छनोट गरिएको हो। विद्यालयले गरेको सिफारिसका आधारमा उनीहरूको जिम्मेवारी लिइएको हो। ‘पठनपाठनमा समस्या थियो। अभिभावकत्वले नमुना बालबालिकाको भविष्य बन्ने आशा जागेको छ,’ कालिका माध्यमिक पूर्वविद्यार्थी मञ्चका अध्यक्ष विकास ढकालले भने, ‘अभिभावकविहीन बालबालिकाले पढ्ने हौसला पाएका छन्।’