काठमाडौं । केही वर्षयता बैंकिङ क्षेत्र समस्यामा परेको छ । खराव कर्जा अनुपात बढ्दै गएपछि बैंकहरुले सेयरधनीलाई आकर्षक प्रतिफल दिन सकेको छैन् । यता सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे १४ प्रतिशत लाभांश दिने क्षमता हुँदाहुँदै वितरणयोग्य नाफामा संकुचन आएपछि बैंकले ४ प्रतिशत मात्र अर्थात ५६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रका लागि भुक्तानी कोषसहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गर्दा लाभांश घटेको बैंकका अध्यक्ष मनोजकुमार केडियाले सम्पन्न २३ औं वार्षिक साधारणसभामा जानकारी दिएका हुन् ।
वार्षिक साधारणसभामा सेयरधनीले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष केडियाले बैंकको १४.५ प्रतिशतको वास्तविक लाभांश क्षमता हुँदाहुँदै पनि वितरणयोग्य नाफामा संकुचन आउँदा ५६ करोड ३६ लाख बराबरको अर्थात ४ प्रतिशत मात्र नगद लाभांश स्वीकृत भएको बताएका छन् । जारी गरेका ऋणपत्रहरु आर्थिक वर्ष २०८२०/८३ बाट परिपक्व हुन प्रारम्भ हुने जानकारी बैंकले दिएको छ । आर्थिक वर्ष २०८२/८३ देखि २ अर्ब १६ करोड, २०८३/८४ मा २ अर्ब ५० करोड र २०८४/८५ मा ३ अर्ब रुपैयाँ परिपक्व हुने अध्यक्ष केडियाले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८०/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने भएको छ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५ प्रतिशत हाराहारीको लाभांश बाड्न सक्ने क्षमताको निर्माण हुने जाकारी बैंकले दिएको छ ।
यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुदनाफाबाट सिर्जित लाभांशसमेत जोड्दा बैंकले आकर्षक प्रतिफल दिने उनले सभालाई जानकारी गराएका थिए ।


