काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जनमतसँग पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने उद्देश्यसहित केन्द्रीय समिति बैठक बोलाएको छ । रेशम चौधरी संरक्षक रहेको सो पार्टीको बैठक आज काठमाडौँस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । नागरिक उन्मुक्ति पार्टीका महासचिव गंगाराम चौधरीका अनुसार, डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैशाख १७ गते एकता घोषणा गर्ने तयारीलाई अन्तिम रूप दिन बैठक बोलाइएको उनले बताए । यसअघि नै दुवै पार्टीबिच एकताको निर्णय भइसकेको छ ।
बैठकमा पदाधिकारी चयन, विधानको टुङ्गो, र केन्द्रीय समिति गठनसम्बन्धी विषयमा निर्णय गरिनेछ । दुवै पार्टीबिच केन्द्रीय समिति, पदाधिकारी र अन्य समितिमा समान (५०÷५०) सहभागिता रहने सहमति भइसकेको छ । एकीकृत पार्टीको नाम जनमत पार्टी हुने र चुनाव चिन्ह ढकिया रहने सहमति भएको छ। नयाँ पार्टीको कार्यकारी अध्यक्ष डा. सिके राउत हुनेछन् भने संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने तय भएको छ। एकीकृत पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय र पदाधिकारी सङ्ख्या ५१ सदस्यीय हुने जनाइएको छ।


