काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम मंगलबारदेखि महानगरभित्रका सबै सामुदायिक विद्यालयमा पूर्ण रूपमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न महानगरले आग्रह गरेको हो । सर्वोच्च अदालतले गत बिहीबार देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले तीन दिनभित्र आदेश कार्यान्वयन गर्न समेत भनेको थियो ।
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । तर, उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्राचारमा भनिएको छ ।


