काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।

वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक ढंगले अघि बढेको बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ, उनले भने, सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
यसैबीच सहमति नजुटेपछि शिक्षकहरुले भने बुधबार पनि जारी रहने बताएका छन् । दुई पक्षबीच सोमबार समेत सहमतिको प्रयासस्वरुप छलफल भएपनि सहमति जुट्न सकेको थिएन । शिक्षकहरू विद्यालय शिक्षा ऐनसहितका माग बोकेर विगत २८ दिनदेखि आन्दोलनमा छन् ।