काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।
छब्बीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा उहाँले आफू पहिले प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्म क्षमताको अन्तरराष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताउनुभयो ।

उहाँले बुद्धको जन्मका आधारमा २६६९औँ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गर्नुभयो । “बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन । बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्ने छ ।”
प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिनुभएको थियो । बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्कनुभएको थियो ।
बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज
आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा, भक्ति र शान्तिपूर्ण वातावरणमा मनाइँदै छ । बौद्ध धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा लिइने यस दिनले मानवता, सहिष्णुता र अहिंसाको सन्देश पुनः स्मरण गराउँछ । विशेष महत्त्वको कुरा के हो भने यही दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना भएको विश्वास गरिन्छ ।
नेपालका लागि यो पर्व झनै गौरवको विषय हो, किनकि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको हो, जुन आज विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र स्थलका रूपमा परिचित छ । लुम्बिनी मात्र होइन, काठमाडौँ उपत्यकाका बौद्धनाथ र स्वयम्भूनाथ लगायतका स्थानमा भक्तजनको उल्लेख्य भिड देखिएको छ ।
इतिहासअनुसार, करिब ६२३ ईसापूर्व लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम एक राजपरिवारमा हुर्किए पनि जीवनका दुःख–कष्टबारे गहिरो जिज्ञासाले उनलाई दरबार छाड्न प्रेरित गर्यो । वृद्धावस्था, रोग र मृत्युका दृश्यले उनलाई जीवनको यथार्थ बुझ्न बाध्य बनायो । त्यसपछि उनले कठोर तपस्या र ध्यानमार्फत सत्यको खोजी गरे र अन्ततः भारतको बोधगयामा ज्ञान प्राप्त गरे । यही क्षणदेखि उनी ‘बुद्ध’—अर्थात् जागृत व्यक्तिका रूपमा चिनिन थाले ।
द्धले आफ्नो जीवनभर मानिसलाई दुःखबाट मुक्त हुने मार्ग सिकाए । उनले चार आर्य सत्य र अष्टाङ्गिक मार्गमार्फत संयमित, नैतिक र सचेत जीवनशैली अपनाउन प्रेरित गरे । उनका शिक्षा केवल धार्मिक सीमाभित्र सीमित छैनन्, बरु सम्पूर्ण मानव समाजका लागि मार्गदर्शनका रूपमा स्थापित छन् ।
बुद्ध जयन्तीको महत्त्व केवल ऐतिहासिक वा धार्मिक पक्षमा सीमित छैन । आजको विश्व, जहाँ द्वन्द्व, हिंसा र असहिष्णुता बढ्दै गएको छ, त्यहाँ बुद्धका विचार अझै सान्दर्भिक देखिन्छन् । उनले सिकाएको अहिंसा, करुणा, मैत्री र मध्यम मार्गले व्यक्तिलाई मात्र होइन, समाज र राष्ट्रलाई समेत शान्तिपूर्ण सहअस्तित्वतर्फ डोर्याउने क्षमता राख्छ ।
नेपालमा यस दिन विशेष कार्यक्रम आयोजना गरिन्छ । गुम्बा, विहार र स्तूपमा पूजा–अर्चना, ध्यान, प्रवचन र शान्ति यात्रा सञ्चालन गरिन्छन् । श्रद्धालुहरूले दीप प्रज्वलन गर्ने, फूल चढाउने, दान–पुण्य गर्ने र बुद्धका उपदेश सुन्ने गर्छन् । कतिपयले यस दिन मासु–मदिरा त्यागेर सादा र अनुशासित जीवनशैली अपनाउने प्रयास गर्छन्, जसले बुद्धका शिक्षाप्रति सम्मान प्रकट गर्दछ ।
लुम्बिनीमा भने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गरिन्छन्, जहाँ विभिन्न देशका बौद्ध धर्मावलम्बी तथा पर्यटकको सहभागिता रहने गर्दछ । यसले नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा चिनाउने अवसर प्रदान गर्दछ ।
बुद्ध जयन्तीले हरेक व्यक्तिलाई आत्मचिन्तन गर्ने अवसर दिन्छ । व्यस्त जीवनशैली र भौतिक प्रतिस्पर्धाबीच मानिस आफ्नो भित्री शान्ति गुमाउँदै गएको अवस्थामा बुद्धका शिक्षाले मनलाई शान्त र सन्तुलित बनाउने मार्ग देखाउँछ । उनले सिकाएको ‘मध्यम मार्ग’ अर्थात् अत्यधिक सुख र अत्यधिक दुःख दुवैबाट टाढा रहने सन्तुलित जीवन आज पनि उत्तिकै उपयोगी छ ।
यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष भनेको सामाजिक सद्भाव हो । विभिन्न धर्म, जाति र संस्कृतिका मानिस पनि बुद्ध जयन्तीमा सहभागी हुँदै शान्ति र सहिष्णुताको सन्देश साझा गर्छन् । यसले नेपालजस्तो बहुसांस्कृतिक समाजमा एकता र आपसी समझदारी बढाउन मद्दत पुर्याउँछ ।
समग्रमा, बुद्ध जयन्ती केवल एउटा धार्मिक उत्सव होइन, यो मानव जीवनलाई सही दिशा दिने अवसर हो । गौतम बुद्धले देखाएको अहिंसा, करुणा र सत्यको मार्ग आजको समयका लागि अझ आवश्यक देखिन्छ ।
यो दिनले हामीलाई सम्झाउँछ कि वास्तविक शान्ति बाहिर होइन, हाम्रो आफ्नै मनभित्र हुन्छ । त्यसैले बुद्ध जयन्तीको सन्देशलाई व्यवहारमा उतार्दै शान्त, सहिष्णु र सकारात्मक समाज निर्माणतर्फ अघि बढ्नु नै यसको साँचो अर्थ हो ।
वैशाख १९ गते । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको एउटै तिथि वैशाख पूर्णिमाको दिनलाई बुद्ध पूर्णिमाका रूपमा शुक्रबार विश्वभर मनाइएको छ । हिन्दु धर्मले बुद्धलाई भगवान् विष्णुका दस अवतारमध्ये नवौँ अवतारका रूपमा चित्रण गरेको छ । बौद्ध धर्मावलम्बीको प्रमुख आधार बुद्धको विचार हो । त्यसैले हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्था बुद्ध पूर्णिमाको दिन बराबर रहिआएको छ ।
विश्वका विभिन्न स्थानमा युद्ध, द्वन्द्व र कलहले मानिसको आत्मा चहराइरहेको छ । बुद्धले फैलाएको शान्ति, अहिंसा र करुणाको शिक्षा चेतनाले नै युद्धले पारेका घाउमा मलम लगाउन हरेक मानिसलाई उत्प्रेरित गर्ने विज्ञहरू औँल्याउनुहुन्छ ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको स्वरूपमा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्ध भगवान्को जन्म भएको हो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मनुभएका सिद्धार्थ गौतमले कलिलै उमेरमा दरबार र घरबार त्याग्दै ज्ञानको खोजीमा लम्कनुभएको थियो । लामो तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धमा रूपान्तरण हुनुभयो । पहिलो पटक सारनाथमा उहाँले पाँच जना शिष्यलाई शान्ति, अहिंसा र करुणाको शिक्षा दिनुभएको थियो ।
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म उहाँले दिनुभएको उपदेश, शिक्षा र नियमको सङ्ग्रह त्रिपिटकमा छ ।
त्रिपिटकका तीन मुख्य भाग छन् । जस अनुसार पहिलो विनयपिटक अर्थात् जसमा भिक्षुभिक्षुणीले पालना गर्नुपर्ने अनुशासन, नियम र आचारसंहिता छ । दोस्रो सुत्तपिटक जसमा बुद्धले विभिन्न समयमा, विभिन्न व्यक्ति वा समूहलाई दिएका उपदेश, संवाद र सूत्रहरू सङ्गृहीत छन् । तेस्रोमा अभिधम्मपिटक जसमा बुद्धको दर्शनको विस्तृत व्याख्या गरिएको छ । सारमा त्रिपिटकले नैतिक, अहिंसायुक्त, सत्य र सदाचारयुक्त जीवन बाँच्न सिकाउँछ ।
त्यस्तै संसारमा रहेका दुःखका कारण पहिचान गरी त्यसबाट मुक्ति प्राप्त गर्ने उपाय बताउँछ । अत्यधिक भोगविलास र कठोर तपस्या त्यागेर मध्यम मार्ग अपनाउन प्रेरणा दिन्छ । अभिधम्मपिटकको माध्यमबाट मन, चित्त र ज्ञान विकासमा जोड दिइन्छ ।
साँचो क्रान्ति ज्ञानबाट : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले बुद्धजयन्तीका अवसरमा बुद्धको शान्तिको सन्देश अभिव्यक्त गर्नुभएको छ । उहाँले साँचो क्रान्ति ‘क’ बाट नभएर ‘ज्ञ’ बाट हुनुपर्ने बताउनुभएको छ । उहाँले बुद्ध भगवान्लाई शान्तिका सर्वकालीन महान् प्रवर्तकका रूपमा स्मरण गर्दै विश्वशान्तिको कामना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ, साँचो व्रmान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।” उहाँले भन्नुभएको ‘ज्ञ’ को ज्ञान अन्तर्गत बुद्ध भगवान्ले सिर्जना गर्नुभएको शान्ति, करुणा र अहिंसाको शिक्षा हो । जुन विश्वशान्तिको प्रमुख स्रोत हो । प्रधानमन्त्री शाहले बुद्ध भगवान्ले मानव जीवनको दुःख निवारणका उपाय स्मरण यसरी गर्नुभएको छ, “बुद्धले भन्नुभयो– दुःख छ, दुःखका कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ ।”
जीवनलाई सार्थक बनाउनुपर्ने औँल्याउँदै उहाँले अगाडि भन्नुभएको छ, “उज्यालोको अभावै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनु पर्छ, समस्या निवारणको मार्गमा हुनु पर्छ ।” उहाँले त्यसका लागि मानिसले आफैँ दीप बनेर उज्यालिनुपर्ने उल्लेख गर्दै अप्प दीपो भवः भन्नुभएको छ ।
केन्द्रीकृत दृष्टि आवश्यक
भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई औँल्याउनुहुन्छ । उहाँका अनुसार जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ । यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्छन् । यसै गरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानवहितमा सन्देश छर्नुभएकाले बुद्धलाई एसियाका तारा उपाधि दिइएको छ । पञ्चशीलको यसै सिद्धान्तको आधारलाई नेपालको परराष्ट्र नीतिको पनि प्रमुख आधार मानिएको छ ।
तथापि नेपालले विश्वशान्तिको अग्रदूतका रूपमा स्थान लिन अझै नसक्नुमा बुद्धको ज्ञान प्रवर्धन र प्रसार अभाव रहेको निर्देशक राई औँल्याउनुहुन्छ । त्यसको सुरुवात गर्न शुक्रबार लुम्बिनीमा सभामुख डोरनाथ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, विभिन्न मुलुकका राजदूत, संयुक्त राष्ट्रसङ्घका नेपाल प्रतिनिधिले अध्यात्मिक ध्यान गर्दै विश्वशान्तिको कामना गर्नुभएको राईले जानकारी दिनुभयो । अमेरिका, इजरायल र इरान, इजरायल र हमास, रुस युव्रmेनलगायतका देशमा चर्किएको द्वन्द्वलाई मानव हितमा रूपान्तरण गर्न पहिले बौद्धमार्गी देश र त्यसपछि अन्य मुलुकमा कूटनीतिक नियोगमार्फत बुद्धको शिक्षाको प्रवर्धन गर्नुपर्ने कोषका निर्देशक राई औँल्याउनुहुन्छ ।
भगवान् बुद्धप्रति समर्पित रहेर विक्रम संवत् २००८ जेठ ८ गतेदेखि वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती मनाउने र सार्वजनिक बिदा दिने चलन बसेको हो । त्यस्तै विसं २०१२ फागुन ७ गतेदेखि बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।


