१ असार २०८२, आइतबार 1750023772
पालिका

सूर्यविनायक नगरबासीका ३५ हजार घरधुरीमा मेलम्चीको खानेपानी बितरण सुरु

भक्तपुर- सूर्यविनायक नगरबासीले बल्ल मेलम्चीको खानेपानी पिउन पाएका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको ट्यांकीबाट लिफ्टिङ सिस्टमबाट सुवर्णेश्वर खानेपानी ट्यांकीमा पानी खसालेर वितरण कार्यको शुभारम्भ गरेसँगै नगरबासीको चाहना पुरा भएको हो ।

हाललाई वडा नं. २ देखि ६ सम्म मेलम्चीको खानेपानी वितरण भएको हो । नगरबासी मात्रै होइन, जिल्लाबासीलाई नै शुद्ध पिउनेपानी खुवाउनेमा बागमती प्रदेश सरकारका तर्फबाट आफू लागिपरेको मन्त्री किरण थापाले बताउनुभयो ।

निकै कठिनाई र चुनौतीका बाबजुद पनि सूर्यविनायक नगरबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको नगरप्रमुख बासुदेव थापाले बताउनुभयो ।

नगरबासीलाई खानेपानीको पहुँचमा पुर्‍याउन ८ करोड बजेट विनियोजन गरी बृहत्त खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको जानकारी दिंदै प्रमुख थापाले अब निरन्तर पानी आइरहने बताउनुभयो ।

खानेपानीको चरम अभावलाई कम गर्न पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको हो ।

दैनिक ३५ लाख लिटर पानी वितरण हुने भन्दै आयोजना संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाले वाचा गरे अनुसार आयोजना सफल भएको बताउनुभयो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले दोस्रो चरणमा ७ देखि १० वडाबासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताउनुभयो । बाँकी वडामा पनि छिटै पानी वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

हालसम्म १० हजार ९ सय ७० मिटर पाईपलाईन विस्तार गर्ने कार्य सम्पन्न भएको र अब वडा नं. १ सिरुटारमा २ देखि ३ किलोमिटर पाईपलाईन विस्तार गरिने पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेले बताउनुभयो ।

सुवर्णेश्वर, पाण्डुवजार, बालकोट, दक्षिणवाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्यांकीमा पठाइएको पानीको परिक्षण सफल भएपछि मंगलबार मेलम्ची खानेपानी वितरण कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा केयूकेएल भक्तपुर प्रमुख अनिल खत्री, वरिष्ठ ईन्जिनियर कृष्णहरि बुढाथोकी, निर्माण ब्यवसायी, वडाध्यक्षलगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।