काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएजस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने घोषणा गरेका छन् । शुक्रबार ग्वार्कोमा बनेको ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’ उनले सरकारले ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको पनि सम्बोधनको क्रममा भने ।

‘देश विकासको बाटोमा कसरी अघि बढ्दैछ भन्ने जनताले देखिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एशियाली स्टान्डर्डमा पूर्व पश्चिम राजमार्ग अघि बढाउने कुरा भएको छ । बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौं ।’
उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे । ‘केही केही मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास हुँदैछ । हुन्छ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटे। नजिकै रहेको डिभाइडरमा टाँसिएको शिलापत्र अनावरण भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।


