काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरीहरु’ भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताएका छन् ।
केही दिनदेखि एलिना र समीक्षाले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको अभद्र टिप्पणीसहित प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकामा प्रधानमन्त्री ओलीले यो तरिका सही लागेको उल्लेख गरेका हुन् ।
“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ ।” शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।”
अभद्र टिप्पणी गर्नेहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले एलिना र समीक्षासँग माफी समेत मागिरहेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराइरहेका छन् ।


