२८ असार २०८२, शनिबार 1752349888
कृषि

रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

धादिङ। पानीमा हिलो, घाममा धुलो । वर्षैभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी बिस्तारै फेरिँदै छ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदै छ ।

कहिल्यै नसकिने धुलो, वर्षात्मा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको छ । ऊर्जा थपिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसका दिन शनिबार सडक किनारमा बिरुवा रोप्दै गरेका स्थानीय ठाकुर कुमाल भन्छन्, “यो हामीले रोपेको रुख मात्र होइन, यो त धुलो र हिलोको बीचबाट उम्रिने सपना हो । केही वर्षपछि यो सडकमा जो हिँड्छ, उसले यो गाउँ, सडक र हरियालीको महसुस गर्न पाउनेछ ।”

राष्ट्रिय वृक्षारोपण दिवसका अवसर पारेर शनिबार नीलकण्ठ नगरपालिका–८ रामकोट सडक किनारमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । गाउँ र सहरको सीमामा रहेको रामकोट सडकलाई हरियालीको घेरामा परिणत गर्ने लक्ष्यसहित ६ फिटसम्म अग्ला तीन सयवटा ठूला बिरुवा रोपिएका हुन् । डिभिजन वन कार्यालयको आयोजना र नीलकण्ठ नगरपालिका–८ को व्यवस्थापनमा ‘ट्री गार्ड’सहितका कल्की, ज्याकरन्डा, कपूर, अशोक र असारे फूल रोपिएका छन् ।

डिभिजन वन कार्यालयका डिभिजन प्रमुख विष्णुप्रसाद आचार्य भन्छन्, “आज रोपिएका बिरुवा भोलिका लागि हरियालीका जग हुन् । यसलाई संरक्षण गर्न सके यस्ता अभियानको प्रभाव पुस्तौँसम्म रहनेछ ।” सडक किनारको वृक्षारोपणले धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न, छायाँ प्रदान गर्न, जमिन क्षय रोक्न र जैविक विविधताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । सौन्दर्यसँगै वातावरणीय संरक्षण र सामुदायिक सहभागिता सहयोग पुग्नेछ ।