म्याग्दी, २० असार । रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख रुपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो ।
“आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख र २०८१/०८२ मा ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उनले भने, “चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।
आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।


