काठमाडौं : नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले नेपाली कांग्रेस–एमाले जसले बेइमानी गरे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि कांग्रेस–एमाले एकअर्कामा बेइमानी नगर्ने बताएका हुन् ।
नेता शाहीले प्रचण्डले वर्तमान गठबन्धनमा दरार ल्याएर आफू प्रधानमन्त्री बन्ने चाल चालिरहेको उनले बताए । प्रचण्डले अहिले कांग्रेस–एमालेलाई बल्छीमा पार्न जाल बुनिरहेको पनि उनले बताए । ‘यो गठबन्धन सरकार ढल्नेबित्तिकै प्रधानमन्त्री भनेको प्रचण्ड हो । एमाले र कांग्रेसमा आउने दरारले, एमालेले. बेइमान गरे पनि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ । कांग्रेसले बेइमान गरे पनि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ । प्रचण्डको मूल छट्पटी के छ भने यी दुईवटा पार्टीले झगडा गरे भने मेरो ३२ सिटको जादु चल्छ । प्रचण्डले जति जाल बुने पनि एमाले र कांग्रेस माछा होइनन्,’– उनले भने ।
साथै, फरक प्रसँगमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दशा लागेर राजनीतिमा फर्किएको टिप्पणी गरे । उनले भने, ‘ओलीसँग ठेसिनेको जसका जसका दशा लागेका छन् नि, माधव, झलनाथ, प्रचण्ड । त्यस्तो विद्या भण्डारीको पनि दशा लागेको ठान्नुस् । उहाँले आराम गर्नेपर्ने ठाउँमा किन दशा लाग्ने बाटो रोज्नुभयो ? अचम्म लागिराखेको छ ।’
‘एमालेमा आएर उहाँ अध्यक्ष बन्ने रे नि ?’ भन्ने प्रश्नमा उनले विद्या भण्डारी केपी शर्मा ओलीका लागि सबैभन्दा सस्तो चुनौति रहेको बताए । उनले ओलीले माधव, झलनाथ, वामदेव, प्रचण्डजस्ता शक्तिहरुलाई सामना गरेर आएको बताउँदै उनले विद्या भण्डारी र इश्वर पोखरेलको नाटक ५/६ महिनाभन्दा नचल्ने बताए ।
‘सम्झिने, पानी छम्किने । यो पानीका फोृकामात्रै हो । प्रचण्डजस्तै आकार आएको चुनौति होइन । ओलीले सामना गरेका माधव, झलनाथ, वामदेव, सीपी, आरके सबैमध्ये सबैभन्दा सस्तो बेसाहा भनेको विद्या भण्डारीको हो । सबैभन्दा सस्तो चुनौति,’ उनलेभ ने, ‘एमालेजस्तो तीष्ण राजनीतिक शक्ति अरु छैन । बाहिरबाट माधव, झलनाथ, वामदेव, प्रचण्डले मादल ठोकिराख्नुभएको छ । ईश्वर पोखरेल र विद्या भण्डारी नाचिराख्नुभएको छ । यो नाटक पाँच/छ महिना पनि चल्दैन ।


