हेटौडा। जिल्ला लघु उद्यमी संघ (D-MEGA) मकवानपुर तथा हेटौडा गार्मेन्ट उद्यम समूह–५ को सहकार्यमा आयोजनामा १० दिने स्पेसल फेसन डिजाइन तालिम सुरु गरिएको छ। हेटौडा उपमहानगरपालिका–५ स्थित सुर्यमणि प्राविधिक शिक्षालयको भवनमा आजदेखि सुरु भएको हो । तालिम सुर्यमणि प्राविधिक शिक्षालयका अध्यक्ष श्याम कुमार अग्रवालको सभाध्यक्षता तथा उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुसाल को प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो।

प्रमुख अतिथि भुसालले तालिम उद्घाटन गर्दै भन्नुभयो,”अब डिजाइनमा विविधता आवश्यक छ। बजारको माग अनुसार परिमार्जन हुँदै जानुपर्छ। प्रमाणपत्र मात्रै होइन, त्यसको व्यवहारिक उपयोगिता पनि महत्वपूर्ण हुनुपर्छ।”
उहाँले सिकाइपछि रोजगारको अवसर सुनिश्चित गरिनु पर्नेमा जोड दिँदै थपे,”सिर्फ प्रमाणपत्र लिने संस्कार अन्त्य हुनुपर्छ। हामीले अब स्वरोजगार बन्ने दिशामा अगाडि बढ्नुपर्छ।” भुसालले यस्तो सीपमुलक तालिमले आर्थिक आत्मनिर्भरता हासिल गर्न सघाउ पुर्याउने भएकाले सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
तालिममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नयाँपन राष्ट्रिय दैनिकका सम्पादक दिपेन्द्र रोक्का डि-मेगा मकवानपुरकी सचिव तथा प्रशिक्षक मेनका श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालयका तालिम संयोजक श्री लेखमान रावतलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
तालिमले स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने, उत्पादन र डिजाइन क्षेत्रमा नवीन सोच ल्याउने अपेक्षा सहित तालीम आयोजना गरेको हो । २० जना सहभागी तालिममा सहभागि महिलाहरूले फेसन डिजाइनका विविध पक्षमा व्यवहारिक ज्ञान प्राप्त गर्नेछन्।


