४ आश्विन २०८१, शुक्रबार 1726881500
Banner

असन्तुष्टि मिलाउन र भ्रम चिर्न नसक्दा भक्तपुरमा सोचजस्तो नतिजा आएन : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका युवा नेता महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा एमाले पछि पर्नुको कारण औल्याउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेकपा (एमाले) बिरुद्ध सबै दलहरूगठबन्धन बनाएर लागेको बेलामा पनि भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उदेश्यले पार्टी निरन्तर लागेको बताउनुभयो । तर, टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा र नागरिकमा छरिएको भ्रम चिर्न नसक्दा सोचेजस्तो परिणाम हात नपरेको उहाँले लेख्नुभएको छ ।

‘जनतामा हाम्रा बारेमा फिजाइएका भ्रमहरूलाई समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूको बारेमा गरिएका कु–प्रचार तोड्न नसक्दा, हामीप्रति जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिबिधिले गर्दा पनि मध्यपुर थिमि नगरपालिकामा हामीले जित्ने वार्ड नं.१, २, ५ वडामा अध्यक्ष पराजित भएका छन् र मिश्रित परिणाम आएको छ । प्रमुख र उप प्रमुखमा हाम्रो मत घटेको छ । लगभग हारको नजिक पुगिएको छ,’ बस्नेतले लेख्नुभएको छ ।

उहाँ अघि लेख्नुहुन्छ, ‘सुर्यबिनायक नगरपालिकामा पनि बिगतमा कांग्रेसले जितेको यो पटक हामीले जित्ने आशा गरेको वार्ड नं २ र ३ झिनो मतले जित्न सकिएन । अघिल्लो पटक जितेको दधिकोट थोरै मतले पराजित भएर मिश्रित परिणाम आएको छ । अब मतगन्न बाँकि वार्ड नं. ५ ,६ ,७ ,८ ,९ ,१० सबै वडाहरू र मेयर उपमेयर राम्रैसंग जितिने संभावना छ ।

चाँगुनारायण नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको वार्ड नं. १ र २ हामीले जित्ने लक्ष्यमा झिनो मतले पराजित भएका छौ । पहिला जितेको वार्ड नं. ६ मा पराजित भइएको छ । तर, अब मेयर र उपमेयरको अग्रता बढेको छ । बाँकि वडाहरू ७ ,८ र ९ को परिणाम राम्रो आउने र मेयर उपमेयर जित्ने सम्भाबना छदैछ । जे होस् यो परिणाम मार्फत जनताले दिनुभएको आदेशलाई स्वीकार गरेर हामी भित्र जान अन्जानमा भएका भएका कमजोरी हटाएर अझ सशक्त ढंगले अगाडि बढदै जनताको सेवामा आउनेछौं ।’