गण्डकी, २ भदौ । पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ आफ्ना गतिविधि बढाइरहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा गरेका विभिन्न स्थानीय तहसँग अनुुभव आदानप्रदान गर्ने कार्यलाई अघि बढाएको छ । भ्रमण वर्ष घोषणापश्चात् गरिएका प्रयासँगै गरिएका असल अभ्यास एवम् पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने उद्देश्यका साथ अनुभव आदानप्रदान गर्ने कार्य बढाइएको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताउनुुभयो । अनुुभव आदानप्रदानकै क्रममा भ्रमण वर्ष घोषणासहित अघि बढिरहेको गोरखा नगरपालिकामा सरोकारवाला पदाधिकारी एवम् प्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ । गोरखा आफैँमा एउटा ऐतिहासिक स्थल भएको उल्लेख गर्दै संयोजक भट्टराईले पोखराबाट नजिक रहेको यस गन्तव्यसँग एकापसमा पर्यटकीय साझेदारी बढाउँदै अघि बढ्न सकिने बताउनुुभयो ।
गोरखाले पनि भ्रमण वर्ष घोषणा गरी अघि बढिरहेको र पोखरा पनि भ्रमण वर्ष घोषणासहित विभिन्न गतिविधि बढाइरहेको उल्लेख गर्दै उहाँले एकापसमा गरिने समन्वय र सहकार्यबाट पनि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नुुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले गोरखा नेपालको एउटा महत्वपूर्ण ऐतिहासिक स्थान भएको र यहाँबाट नै विशाल नेपालको एकीकरण सुरुआत भएको बताउनुुभयो । भौगोलिक विविधतासँगै धेरै धार्मिक एवम् ऐतिहासिकस्थल गोरखामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ आउन प्रेरित गर्नका भ्रमण वर्ष घोषणा गरिएको बताउनुुभयो । भ्रमण वर्ष घोषणासँगै विभिन्न कार्यक्रम तय गर्दै चरणबद्ध रुपमा आफूहरूअघि बढिरहेको उहाँले जानकारी दिनुुभयो । छिमेकी मुलक भारतसँग पर्यटकीय सम्बन्ध बिस्तार गर्नका लागि गोरखादेखि गोखरपुरसम्म खिचडी पदयात्रा जस्ता कार्यक्रम अघि बढाउन खोजिएको प्रमुख मगरको भनाइ छ । महिला उद्यमी रामकली खड्काले गोरखा विभिन्न कच्चा सामग्री पाइने ठाउँ भएको उल्लेख गर्दै यसलाई पर्यटन एवम् उद्यमशीलतासँग जोड्नुु आवश्यक भएको बताउनुुभयो ।
चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष रामशरण श्रेष्ठले पोखरा आफैँमा सुन्दर गन्तव्य भएकाले यहाँ बसपार्कलगायत पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने सुुझाव दिनुभयो । गोरखा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले गोरखाका पर्यटकीय उपयोगलाई प्रभावकारी बनाउनुुपर्ने बताउनुुभयो । गोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भवानी मास्केले पोखरा आफैँमा सुन्दर गन्तव्य भएको बताउँदै सुन्दरताको संरक्षणसँगै फेवातालको बढ्दो अतिक्रमण जोगाउनुुपर्ने धारणा राख्नुुभयो । नेपाल पत्रकार महसङ्घ गोरखाका पूर्वअध्यक्ष कैलाशबाबु श्रेष्ठले पोखराका पर्यटकीय गन्तव्यमा सार्वजनिक यातायातको सहज पहुँच हुनुु जरुरी भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस क्षेत्रको पर्यटकीय विकासका लागि स्थानीय तहबीच भाइचारा सम्बन्ध हुनुु जरुरी भएको धारणा राख्नुुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले भ्रमण वर्ष घोषणा गरिएका स्थानीय तहमा भइरहेका असल अभ्यासबारे जानकारी लिनका लागि यस किसिमका कार्यक्रमलाई महानगरले बढाएको बताउनुुभयो । पोखरा स्थानीय सबै पालिकासँग सहकार्य गर्दै अघि बढ्न लागेको बताउँदै उहाँले सबैको सामूहिक प्रयासमा महत्वपूर्ण उपलब्धिहरू पनि हासिल हुने बताउनुुभयो । भ्रमण वर्ष घोषणासँगै विभिन्न छुटका प्याकेज घोषणा गर्दै महानगर अघि बढिरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुुभयो । पोखरामा अर्बौं रुपैयाँका पूर्वाधार निर्माणको क्रमसमेत बढिरहेको उहाँले बताउनुुभयो । महानगरले हेलमेट डाँडाको पर्यटकीय उपयोगसँगै लेक टू लेक कनेक्टिभिटी, बेगानास तालमा वाटर स्पोर्ट, नयाँबजारमा कोसेली घर निर्माण जस्ता धेरै कामहरू अघि बढाउन खोजिएको प्रवक्ता तिमल्सिनाको भनाइ छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) का पूर्वअध्यक्ष कमला गिरीले गोरखा पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्दै सोको पर्यटकीय उपयोग हुनुु अपरिहार्य भएको बताउनुुभयो ।


