काठमाडौँ, ३ भदौ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सदस्य शारदादेवी भट्टले इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरबहादुर विष्टले पनि विपिनको मुक्तिका निम्ति राज्यसंयन्त्र लाग्नुपर्ने माग गर्नुभयो । नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सावित्री मल्लले कर्णाली प्रदेशका १० जिल्लाबाट तुइन विस्थापन गर्न माग गर्नुभयो ।


