१८ भदौ २०८३, बिहिबार 1788415426
कला/साहित्य

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि

काठमाडौँ । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्।

आइतबार राति आयोजित ग्राण्ड फिनालेमा पाँच उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हात पारिन्। यससँगै नेपाल आइडल जित्ने दोस्रो महिला गंगा बनेकी छन्।  यसअघि सिजन ३ मा सज्जा चौलागाईं पहिलो महिला विजेता बनेकी थिइन्। गंगाले उपाधिसँगै नगद २५ लाख रुपैयाँ, ट्रफी र अन्य थुप्रै उपहार प्राप्त गरेकी छन्।

फिनालेमा गंगासँग प्रतिस्पर्धा गर्ने अन्य प्रतियोगीहरूमा अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), र मृनल मानन्धर (काठमाडौं) बाट थिए।

यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप बनिन् र उनले नगद १० लाख रुपैयाँ जितिन्। त्यस्तै, दर्शना गान्धारी सेकेन्ड रनर अप घोषित भइन् र उनले ५ लाख रुपैयाँ पुरस्कार पाइन।

चौथो स्थानमा अभिनय खाति र पाँचौं स्थानमा मृनल मानन्धर रहे। दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

फिनाले कार्यक्रम ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको थियो।