काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका १६ जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । पोलिटब्युरो सदस्य पल बहादुर रावत,पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी,सुरेन्द्र कार्कीसहित केन्द्रीय सदस्यहरू माधव घिमिरे,दर्शन नेपाली,हरि श्रेष्ठ, शरद रसाइली,बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान,अर्जुन मण्डल,राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाटले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले सबै कम्युनिस्ट पार्टीहरूभित्र रूपान्तरण र पुनर्गठनको बहस पेचिलो बन्दै गएको भन्दै ढिलो नगरीकन वास्तविक र व्यापक रूपान्तरण र पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् । ‘यही गम्भीरता र जिम्मेवारीवोधलाई मध्यनजर गर्दै विगतदेखि क्रियाशील रहँदै आएको पार्टी नेकपा (बहुमत) बाट आजकै मितिदेखि स्वतन्त्र भई अर्को अभियानको प्रारम्भ गर्ने घोषणा गर्दछौँ’, उनीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ । उनीहरूले पद प्रतिष्ठा, गुटगत र आर्थिक स्वार्थहरूबाट मुक्त एक उच्च नैतिक आदर्श र मूल्य मान्यतासहितको श्रमजीवी जनताको भरोसा योग्य कम्युनिस्ट आन्दोलनको अभियानमा सामेल हुन पनि उनीहरूको आह्वान छ ।


