रुपन्देही । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको बिजुली लाइन काटेपछि सुरु भएको उद्योगी–व्यवसायीहरूको आन्दोलनमा सहभागी रहेका गौतम बुटवलमा आयोजित विरोधसभामा भाषण गर्दै गर्दा अचानक ढलेका थिए।
उनी बेहोस भएपछि तत्कालै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले अस्पताल पुग्नेबित्तिकै उनलाई मृत घोषणा गरेका थिए।
भाषणकै क्रममा बेहोस
कार्यक्रमका क्रममा सम्बोधन गर्दै गर्दा गौतमले सरकारले उद्योगहरूलाई नाइन्साफीपूर्वक फसाएको आरोप लगाइरहेका थिए। श्रमिकहरूलाई एकताबद्ध भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै गरेको क्रममा उनी अचानक मञ्चमै बेहोस भएका थिए।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको निधन भएको पुष्टि गरेका छन्। उनले भने, “गौतमको निधनले मजदुर आन्दोलनले एक दृढ नेतृत्व गुमाएको छ।”
बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्व र श्रमिक आन्दोलनमा सक्रिय रहेका थिए।
हाल उनकाे शव क्रिमसन अस्पतालमै राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन्।


