काठमाडौँ : रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साहले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिमिरेको नेतृत्वमा उक्त क्षेत्रको विकास र समृद्धि सम्भव हुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।
साहले तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको जिम्मेवारी र योगदानबाट आफू प्रभावित भएको बताएका छन्। सोही आधारमा उनले निर्वाचनमा आफ्नो समर्थन एमालेका उम्मेदवारतर्फ रहने स्पष्ट पारेका हुन्।
विज्ञप्तिमार्फत साहले आफ्ना समर्थक, शुभेच्छुक तथा मतदातालाई नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ का स्थायी बासिन्दा हुन्।


