काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् ।

नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । थारुको खुट्टामा गोली लागेको । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीले उनलाई १ राउण्ड गोली प्रहार गरेको थियो ।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ ।


