काठमाडौं । हाइप्रोफाइल व्यक्तिहरूलाई धम्क्याउने आरोपमा पक्राउ परेका प्रकाश पाठक र नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी बीच सम्पर्क रहेको विषय अनुसन्धानको केन्द्रमा परेको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा आफूमाथि मुद्दा दायर हुने संकेत पाएपछि अधिकारीले दबाब सिर्जना गर्ने उद्देश्यले पाठकसँग सम्पर्क गरेको आशंका गरिएको छ।
प्रारम्भिक विवरणअनुसार अधिकारी र पाठकबीच फोन तथा सामाजिक सञ्जालमार्फत संवाद भएको देखिएको छ भने यस क्रममा केही रकम लेनदेनसमेत भएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। यद्यपि उक्त दाबीहरू अझै प्रमाणित भइनसकेको र थप अनुसन्धान जारी रहेको बताइएको हो।
प्रहरीले पाठकको डिजिटल उपकरण परीक्षण गरिरहेको छ भने अधिकारीसँग जोडिएको कोणबाट समेत अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुसन्धानबाट पुष्टि हुने आधार प्राप्त भएमा कानुनी कारबाहीको दायरा थप फराकिलो हुन सक्ने अधिकारीहरूले बताएका छन्।


