काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धले भारतभर खाना पकाउने एलपीजी ग्यास अभाव भएको छ ।
धेरै शहरहरुमा खाली सिलिन्डरहरू बाहिर लामो लाइनमा देखिएको छ । साथै, ग्यास सिलिन्डरको कालोबजारी पनि भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिपोर्टका अनुसार, व्यावसायिक सिलिन्डरको मूल्य ४ हजार भारतीय रुपैयाँसम्म पुगेको छ । ग्यास अभावका कारण होटल र रेस्टुरेन्ट सञ्चालकहरूले व्यापार ठप्प पारेका छन् भने धेरै ठाउँहरूमा तालाबन्दी समेत भएको छ ।
यसैबीच, शुक्रबार राजधानी दिल्लीमा भारतीय कांग्रेस कार्यकर्ताहरूले ग्यास अभावको समस्यालाई लिएर केन्द्र सरकारको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । साथै, राजस्थानको जयपुरमा कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शनको क्रममा सिलिन्डरको शवयात्रा निकालेका थिए ।
भारतमा ग्यास आपूर्ति संकट हुनमा प्रमुख दुई कारणहरू रहेको छ । ठूलो समस्या होर्मुज जलडमरूम बन्द हुनु हो । यो १६७ किलोमिटर लामो जलमार्गले फारसी खाडीलाई अरब सागरसँग जोड्छ । जारी युद्धका कारण अहिले यो मार्ग सुरक्षित छैन । खतराका कारण कुनै पनि तेल ट्याङ्करहरू यसबाट गुज्रिरहेका छैनन् । विश्वको २० प्रतिशत पेट्रोलियम पदार्थ यसबाट गुज्रिन्छ । साउदी अरेबिया, इराक र कुवेत जस्ता देशहरू पनि आफ्नो निर्यातको लागि यसैमा निर्भर छ । भारतले आफ्नो कच्चा तेलको ५० प्रतिशत र एलएनजीको आवश्यकताको ५४ प्रतिशत सोही मार्गबाट आयात गर्छ । इरान आफैंले पनि यही मार्गबाट निर्यात गर्छ ।
हालै अमेरिका र इजरायल मिलेरले इरानमाथि आक्रमण गर्यो । प्रतिकारमा इरानले युएई, कतार, कुवेत र साउदी अरेबिया लगायत देशहरूमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाएको छ ।
इरानी ड्रोन आक्रमणपछि भारतको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता कतारले आफ्नो एलएनजी प्लान्टमा उत्पादन रोकेको छ । यसले भारतको ग्यास आपूर्तिमा कमी आएको हो । भारतले आफ्नो एलएनजी आवश्यकताको ४० प्रतिशत (वार्षिक लगभग २ करोड ७० लाख टन) कतारबाट आयात गर्ने गर्छ ।


