काठमाडौँ : अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ ।
अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गरेको र अस्पतालको ठूलो भाग ध्वस्त भएको बताएका छन् ।
उनका अनुसार आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ ।
स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले भग्नावशेषबीच आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल तथा नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन् ।


