भक्तपुर, वैशाख २ गते । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा ऐतिहासिक एवं प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहका साथ मनाइएको छ । नयाँ वर्षको अवसरमा मनाइने बिस्केट जात्राको मुख्य आकर्षणका रूपमा रहेको यस जात्रामा यस वर्ष स्थानीय २८ वर्षीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुर्ख्यौली परम्परालाई निरन्तरता दिनुभएको हो ।
चैत मसान्तदेखि सुरु हुने बिस्केट जात्राको अभिन्न अङ्ग मानिने यो जात्रा अवलोकनका लागि हजारौँको सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । जात्राको क्रममा श्रेष्ठले करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको हो । जिब्रो छेड्नुअघि उहाँले स्थानीय विभिन्न देवीदेवताको पूजा–अर्चना गर्नुभएको थियो ।
जिब्रो छेडिसकेपछि उहाँले काँधमा झण्डै ४० किलो तौलको ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गर्नुभएको थियो । यो जात्राको आफ्नै विशिष्ट ऐतिहासिक र धार्मिक महत्त्व रहेको छ ।
धार्मिक पृष्ठभूमि र विश्वास किंवदन्तीअनुसार प्राचीन कालमा बोडेमा दुःख दिने नीलबाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको सम्झनामा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र सो प्वालमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ । यसरी माटो लगाउँदा घाउ चाँडो निको हुने र रगतसमेत नबग्ने जनविश्वास रहिआएको छ ।

परम्पराअनुसार श्रेष्ठ परिवारले नै यो जात्रालाई मुख्य रूपमा धान्दै आएका छन् । यसअघि सूजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक र काकाले पनि यो जात्रामा सहभागी भएर परम्परा जोगाउनुभएको थियो ।
किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिएर बलेको महाद्वीप काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए ।
कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा पूरा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किम्वदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अघि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायम छ ।
तर यो कथनलाई मान्न तयार छैनन् बुद्धकृष्ण । उनी भन्छन्, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देवगण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी छ ।”


