काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


