काठमाडौँ । सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ । एक्कासि आफूहरूलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगायत अन्य स्थानमा बस्दै आएकाहरूले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानलेसमेत साथ दिँदै प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सहभागीहरुले विकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न पाइँदैन, पुनर्वास विना हटाउने निर्णय मान्य छैन, वास्तविक सुकुम्वासीको पहिचान गर लगायतका प्लेकार्ड देखाउँदै सरकार विरोधी नाराबाजी गरेका थिए । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुमबासीको हक हित र अधिकारका लागि आफूहरूको पूर्ण समर्थन रहेको बताए ।
उनले वर्तमान सरकारले डोजर चलाउने भनेर आतंक मच्चाएको धारणा राखे । वास्तविक सुकुमबासीको उचित व्यवस्थापन गरेर मात्रै अन्य कदम चाल्न उनले आग्रह गरे ।
यता शनिबार बिहानबाट सुकुमबासी बस्ती खाली गर्ने जानकारी आएपछि केहीले आफ्नो सामानहरू सार्न सुरु गरेका छन् । भूमिहीन दलित–सुकुमबासी र अव्यवस्थित बोसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयसँगै उनीहरुले सुकुमबासी बस्तीबाट सामान सार्न सुरु गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसँगै शनिबार र आइतबार उपत्यकाभित्र रहेका सुकुमबासी बस्ती डोजर लगायत हटाउने तयारी भएको छ ।


