काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
उनले विगतका वर्षहरूमा ३ महिना लाग्ने एसइईको नतिजामा यसपालि एक महिनामै परीक्षाफल प्रकाशित भएपछि सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद व्यक्त गरेका हुन् ।
‘हिजो सार्वजनिक भएको एसइई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई। तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ। त्यस्तै अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु।’
‘आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो,’ उनले भने । विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन उनले स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध पनि गरेका छन्। एसइईको परीक्षाफल सोमबार प्रकाशित भएको थियो।


