४ जेष्ठ २०८३, सोमबार 1779100682
समाचार

केन्द्रीय कारागारबाट फरार महिला कैदी र उनलाई सहयोग गर्ने युवक पक्राउ

काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
महिला ब्लकमा रहेकी २५ वर्षीया सपना शुक्रवार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर भागेकी थिइन् ।

उनलाई न्यूरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । अनुसन्धान कार्यालयको टोलीले सपनालाई सहयोग गर्ने भोजपुर घर भएका समीर श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

नुवाकोट घर भएकी सपनालाई अदालतले शरीर बन्धक र ज्यान सम्बन्धी कसुरमा कैद सजाय गरेको थियो । कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको भाग्दा कारागारको सुरक्षा हेर्न बसेको प्रहरी युनिट बेखबर थियो ।

केन्द्रीय कारागारको सुरक्षा कमान्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन् । न्यौपाने कारागार सुरक्षाको प्रमुख भएर गएपछि २०८२ फागुन १ मा पनि महिला बन्दीगृहमा झडप भएको थियो ।