१० कार्तिक २०८१, शनिबार 1729966404
प्रदेश

खोला तर्न नसक्दा अढाइ वर्षीय बालक लिएर पाँच दिनदेखि ओडारमा

काठमडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओडारमा बस्दै आएकी छन् ।

सधैँ बस्दै आएको याक्सा (गोठ) नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओडारमा गएर आश्रय लिएकी हुन्।

गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीनवटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताइन् ।

‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दै थियो, हामी सुरक्षित भएर ओडारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर हो कि फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, न उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ,’ चेतमायाले फोनमा भनिन् ।

पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ । आलुखेतीसमेत पहिरोले बगाएको उनले बताइन् । घरतर्फ आउन विभिन्न तीनवटा खोला खोल्सा तर्नुपर्छ ।

तीनवटै खोलाका पुल बाढीले बगाएको छ । पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो । अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ थियो ।

वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो ।

शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीनजनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जान सकेन ।

उद्धारमा समस्या भएकाले सहयोग पु¥याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् ।

हेलिकप्टरको पर्खाइमा

यता बिहान गएको पहिरोमा परी घाइते हुनुभएका मेहेलेका राजकुमार राईलाई उपचारका लागि अन्यत्र लैजान छरछिमेक तथा आफन्त हेलिकप्टर कुरेर बसेका छन् ।

घाइते भएका राजकुमारलाई घटनास्थलदेखि हेलिकोप्टर बस्ने स्थानसम्म झण्डै आधा घण्टाको दुरीमा ल्याएर राखिएको छ । राईको उद्धारका लागि विराटनगरबाट हेलिकप्टर छुटेको बताइएको छ ।

बिहानैदेखि हेलिकप्टर आउने चर्चा चले पनि समयमै उक्त स्थानमा पुगेको छैन । प्रतिकुल मौसमका कारण पनि बिहानै उद्धार गर्न नसकिएको जनाइएको छ । राजकुमारसँगै पहिरोमा परेका सुरेश राईको निधन भएको छ भने बेपत्ता केशरबहादुर राईको शव फेला परेको छ ।

Tags :